मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

तनहुँ | जेठ ५, २०८०

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु तस्बिर फाइल

तनहुँ:    पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो ।


पूर्वी भागको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।


“पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ”, प्रमुख सुवेदीले उल्लेख गर्नुभयो ।


तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्र गरिएको उहाँले बताउनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिनुभयो । साथै सबवेस र फेसको काम पनि भइरहेको छ ।


पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताउनुभयो ।


यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको काम भने धिमा गतिमा भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।


पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ ।


विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।


चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगाँैडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । 

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्

वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ।    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...

थप पढ्नुहोस्

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्